मेटा र युट्युब सामाजिक सञ्जालले लत लगाएको मुद्दामा दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश

अनलाइनसमय |
१२ चैत २०८२
मेटा र युट्युब सामाजिक सञ्जालले लत लगाएको मुद्दामा दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश

काठमाडौं, १२ चैत । अमेरिकाको क्यालिफोर्निया राज्यको एक अदालतको निर्णायक मण्डल (जुरी) ले एक ऐतिहासिक मुद्दामा मेटा र युट्युबलाई सबै आरोपहरूमा दोषी ठहर गरेको छ ।

उक्त मुद्दामा यी प्रविधि हस्तीहरूले जानाजानी एक युवतीलाई आफ्नो एपको कुलतमा फसाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्याएको आरोप लगाइएको थियो ।
निर्णायक मण्डलले मेटा र युट्युब आफ्ना प्लेटफर्महरूको डिजाइनमा लापरवाह रहेको, उनीहरूको डिजाइन खतरनाक छ भन्ने थाहा पाउँदापाउँदै पनि ती जोखिमहरूबारे चेतावनी दिन असफल भएको र वादीलाई ठूलो क्षति पुर्याएको निष्कर्ष निकालेको छ ।

यो एक ऐतिहासिक निर्णय हो, जसले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको कल्याण सम्बन्धी थप मुद्दामा जिम्मेवार बनाउने बाटो खोल्न सक्छ ।

यो मुद्दा २० वर्षकी “केली” नामले चिनाइएकी युवतीले दायर गरेकी थिइन् । उनले मेटा (फेसबुक र इन्स्टाग्रामको कम्पनी) र युट्युबले चुरोट वा जुवा जस्तै लत लाग्ने एप बनाएको आरोप लगाएकी थिइन् । अनन्त स्क्रोल र एल्गोरिदमिक सिफारिसजस्ता सुविधाहरूलाई उद्धृत गर्दै, उनले मेटा र गुगलको युट्युबले चिन्ता र डिप्रेसन उत्पन्न गराएको दाबी गरेकी थिइन् ।

लस एन्जलस सुपेरियर कोर्टमा सात हप्ताको बहसपछि निर्णायक मण्डलले आठ दिनभन्दा बढी समय छलफल गरेको थियो । केलीलाई भएको क्षतिमा मेटा ७० प्रतिशत र युट्युब ३० प्रतिशत जिम्मेवार रहेको बताइएको छ ।

मेटा र युट्युबलाई भने जुरीले कुल ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । युट्युबलाई ९ लाख डलर र मेटालाई २१ लाख डलर जरिवाना तिर्न जुरीले आदेश दिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस