काठमाडौं, १२ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन’ भन्ने पुष्टि भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले आयोगको प्रतिवेदन र आम निर्वाचन २०८२ को परिणामले राजनीतिक तथा कानूनी वैधानिकता दिन खोजिएको बताएका छन् ।
‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, उनले लेखेका छन्, ‘कार्की आयोग र आमनिर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोहीअनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’
पोखरेले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको दाबी गरेका छन् । ‘अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ, ’ उनले भनेका छन् ।
यद्यपि, नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु उपयुक्त हुने उनको भनाइ छ ।