काठमाडौं, १२ चैत । कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चैत २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर जारी गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ५ लाख ५० हजार कित्ता शेयर स्थानीय बासिन्दालाई र ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण भइसकेको छ ।
अब दोस्रो चरणअन्तर्गत कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा १६ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर (६ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्काशन गरिनेछ ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति छिटोमा चैत २५ गते र ढिलोमा २०८३ बैशाख ६ गतेसम्म तोकिएको छ ।
आईपीओका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।