काठमाडौं, ९ चैत । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै शेयर बिक्री सुरु गरेको हो ।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । यसमध्ये आधा अर्थात ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
स्थानीयका लागि छुट्याइएको शेयरमध्ये ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का बासिन्दाले ४ लाख ६८ हजार ७५० कित्ता पाउनेछन् । बाँकी ४ लाख ६८ हजार ७५० कित्ता शेयर सिरिजङ्गा गाउँपालिका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथिभरा याङवरक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. १ का बासिन्दाबीच बाँडफाँट गरिनेछ ।
यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ ।
आईपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
स्थानीयका लागि आईपीओ छिटोमा चैत २३ गते बन्द हुनेछ भने माग अनुसार नबिकेमा बैशाख ८ गतेसम्म खुला रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।