आठ महिनामा थपियो २ खर्बभन्दा बढी सार्वजनिक ऋण

अनलाइनसमय |
३ चैत २०८२
आठ महिनामा थपियो २ खर्बभन्दा बढी सार्वजनिक ऋण

काठमाडौं, ३ चैत । पछिल्लो आठ महिनामा २ खर्बभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को फागुनमसान्तसम्ममा सरकारको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तमा यस्तो ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।

कार्यालयको तथ्याङ्क अनुसार सरकारले फागुनमसान्तसम्म सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा सरकारले बाह्य ऋण १५ खर्ब ३० अर्ब १८ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड तिर्न बाँकी छ ।

कार्यालयका अनुसार आठ महिनामा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण २ खर्ब ४ अर्ब ८० करोड भुक्तानी गरेको छ भने बाह्य ऋण ३७ अर्ब ४६ करोड रुपैयाँको भुक्तानी गरेको छ ।

जीडीपीको ४७.१३ प्रतिशत सार्वजनिक ऋण
आव २०८२÷८३ फागुनसम्ममा नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा ४७ दशमलव १३ प्रतिशत रहेको छ, जसमध्ये आन्तरिक ऋणको हिस्सा जीडीपीको २२ दशमलव ०७ प्रतिशत र बाह्य ऋणको हिस्सा २५ दशमलव ०६ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

लक्ष्यको ५०.४४ प्रतिशत ऋण प्राप्ती
यसैगरी, चालू आवमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा फागुनमसान्तसम्ममा२ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५० दशमलव ४४ प्रतिशत हो ।

यस वर्ष आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६७ दशमलव ३१ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ उठिसकेको छ भने १ खर्ब १८ अर्ब ३३ करोड रुपैयाँ प्राप्ति हुन बाँकी छ ।

त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २४ दशमलव ३१ प्रतिशत अर्थात् ५६ अर्ब ८० करोड रुपैयाँ प्राप्त भइसकेको छ भने १ खर्ब ७६ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस