एक दशकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र (भिडियो रिपोर्ट)

अनलाइनसमय |
१ चैत २०८२
एक दशकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र (भिडियो रिपोर्ट)

काठमाडौं, १ चेत । पछिल्ला वर्षहरूमा नेपालको अर्थतन्त्रले सम्भाव्य वृद्धिदर हासिल गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकको म्याक्रोइकोनोमिक रिपोर्टका अनुसार विगत एक दशकमा मुलुकको अर्थतन्त्र औसत ४.२ प्रतिशत मात्र बढेको छ । विभिन्न आर्थिक तथा राजनीतिक झट्काका कारण आर्थिक वृद्धिदर स्थिर र अपेक्षातीत सुस्त रहेको देखिएको छ ।

पछिल्लो एक दशकमा अर्थतन्त्रका क्षेत्रगत योगदानमा समेत ठूलो परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३०.३, १५ र ५४.७ प्रतिशत थियो । तर आर्थक वर्ष २०८१/८२ सम्म आइपुग्दा कृषि क्षेत्रको हिस्सा घटेर २५.२ र उद्योग क्षेत्रको १२.८ प्रतिशतमा आइपुगेको छ । यता सेवा क्षेत्रको योगदान भने बढेर ६२ प्रतिशत पुगेको छ । यसले नेपालको अर्थतन्त्र क्रमशः सेवामा आधारित बन्दै गएको संकेत गरेको छ ।

यसैगरी नेपालमा गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा निजी लगानी समेत निरन्तर घट्दै गएको छ । जीडीपीमा निजी लगानीको हिस्सा आव २०७८–७९ मा २१.७ प्रतिशत रहेकोमा आव २०८१–८२ मा १४.७ प्रतिशतमा झरेको छ ।

यसैबीच, आर्थिक सुस्ती र विश्व भूराजनीतिक तनावका बीच नेपालमा नयाँ सरकार गठन हुँदैछ । यस्तो अवस्थामा सुस्त अर्थतन्त्रको पुनरुत्थान र लगानीकर्ताको मनोबल उकास्ने काम सरकारको प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिइएको छ ।

गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । सो वर्षमा कुल जीडीपीमा धेरै योगदान दिने क्षेत्रहरूमा कृषिले २५.१६, थोक तथा खुद्रा व्यापार र सवारीसाधन मर्मत क्षेत्रले १४.५५, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले ८.७२, घरजग्गा कारोबार सेवा क्षेत्रले ८.२९, शिक्षाक्षेत्रले ७.८७ प्रतिशत र यातायात तथा भण्डारण क्षेत्रले ७.२० प्रतिशत योगदान दिने अनुमान छ ।

बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस