काठमाडौं, १ चैत । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
स्थानीय बासिन्दालाई वितरण गरिने शेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ । बाँकी ९ लाख ९७ हजार ५०० कित्ता बुंगल नगरपालिका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिने कम्पनीले जनाएको छ ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गतेसम्म र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत ११ गतेसम्म र ढिलोमा चैत २२ गतेसम्म खुला रहने जनाइएको छ ।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।