एकल आमाको संघर्षबाट हुर्किएकी रञ्जुको राजनीतिक उडान

अनलाइनसमय |
३० फागुन २०८२
एकल आमाको संघर्षबाट हुर्किएकी रञ्जुको राजनीतिक उडान

काठमाडौं, ३० फागुन । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १४ जना महिला मात्रै निर्वाचित भए, जसमध्ये एक हुन् रञ्जु दर्शना न्यौपाने ।

रञ्जु काठमाडौं–१ बाट प्रत्यक्षतर्फ १५ हजार ४५५ मतसहित विजयी हासिल गर्दै पहिलोपटक संसद्मा प्रवेश गर्दैछिन् । उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ९६२ मत ल्याए ।

रञ्जुका लागि यस वर्षको चुनावी माहौल नौलो नभए पनि भिन्न किसिमको थियो । उम्मेदवारी मनोनयन दर्ता गर्दा उनी साढे ८ महिनाको गर्भावस्थामा थिइन् । समानुपातिक प्रणालीबाट सजिलै संसद् प्रवेश गर्न सक्ने अवसर हुँदाहुँदै पनि उनले समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनिन् ।

आराम गर्नुपर्ने अवस्थामा समेत रञ्जुले मतदाताकोमा पुगेर आफ्ना विचार राख्ने, नागरिकका गुनासा सुन्ने र समाधानका उपाय प्रस्तुत गर्ने गर्थिन् । उनको यो सक्रियताले धेरैलाई प्रेरित समेत गराएको थियो ।

राजनीतिक यात्रा

रञ्जु दर्शना सिधै राजनीतिमा आएर परिचित भएकी होइनन् । उनको यात्रा युवा आन्दोलन हुँदै सामाजिक अभियानबाट सुरु भएको थियो । उनी किशोरावस्थामै नेपाल बन्दजस्ता गतिविधिविरुद्ध आवाज उठाउने अभियानमा सक्रिय हुन्थिन् । देशको राजनीतिक संस्कार सुधार्नुपर्छ भन्ने सोचसहित उनी विभिन्न युवामुखी अभियानमा सहभागी हुने गर्थिन् । यही क्रममा उनी विवेकशील नेपाली अभियानसँग जोडिइन्, जसले वैकल्पिक राजनीति र सुशासनको मुद्दा उठाउँदै आएको थियो । यही पार्टीमा आबद्ध भइसेपछि ‘नेपाल खुल्ला छ’ आन्दोलनमार्फत उनको राजनीति सुरु भयो ।

कक्षा १२ मा अध्ययनरत रञ्जु सन् २०७० मा विवेकशील नेपाली पार्टीको पहिलो महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भइन् । त्यसपछि उनले पार्टीमा मिडिया संयोजकका रूपमा काम गरिन् । युवालाई राजनीति र सामाजिक अभियानमा जोड्ने प्रयास गरिन् ।

२१ वर्षकै उमेरमा मेयरमा उम्मेदवार

सानै उमेरमा राजनीतिमा प्रवेश गरेकी उनी सशक्त वक्ताका रूपमा चिनिन थालिन् । नेताहरूसँग खुलेर प्रश्न गर्ने र देश निर्माणको स्पष्ट एजेन्डा राख्ने युवतीका रूपमा उनको लोकप्रियता बढ्दै गयो । सामाजिक सञ्जालदेखि टेलिभिजन अन्तर्वार्तासम्म उनको चर्चा व्यापक भयो ।

२०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील नेपाली पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिइन् । यो निर्वाचनबाट नै उनी राष्ट्रिय स्तरमा चर्चामा आइन् । २१ वर्षको उमेरमै मेयरमा उम्मेदवार दिएकी रञ्जुले काठमाडौंलाई संसारकै सबैभन्दा सुन्दर शहर बनाउने नारा अघि सारेकी थिइन् । त्यतिबेला उनले २३ हजार ४३९ मत ल्याएर चर्चामा आएकी थिइन् । मत उनको पक्षमा भने आएको थिएन । विद्यासुन्दर शाक्यसँग उनी पराजित भएकी थिइन् ।

मत उनको पक्षमा नआएता पनि उनी राजनीतिमा सक्रिय रहिरहिन् । तर, विवेकशील अभियानको क्रममा उनको यात्रामा धेरै उतार–चढाव आयो । पार्टी विभाजन, नयाँ दलको गठन र राजनीतिक परिस्थितिले उनको यात्रा चुनौतीपूर्ण बन्यो । तर, उनी राजनीतिप्रतिको आफ्नो प्रतिबद्धतामा दृढ रहिन् ।

२०७८ साल मंसिरमा रञ्जुले विवेकशील साझा पार्टी परित्याग गरिन् । त्यसबेला उनी पार्टीकी बागमती प्रदेश संयोजक थिइन् ।

यसबीचमा पनि उनी राजनीतिबाट भने टाढा भइनन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा, रञ्जुल काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार दिइन् । यो निर्वाचनमा पनि उनको पक्षमा मत आएन । उनी तेस्रो स्थानमा सीमित रहिन । त्यसबेला कांग्रेसका नेता प्रदिप पौडेलले यो क्षेत्र जितेका थिए ।

त्यसलगत्तै उनी माघमा फेरि विवेकशील साझा पार्टीमा फर्किइन् ।

यसैबीच २०८२ मंसिर १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएसँगै रञ्जु पनि यसमै आबद्ध भइन् । काठमाडौं–१ बाट प्रत्यक्ष उम्मेदवार बनिन् ।

यसो त रञ्जुलाई पहिले रास्वपाले समानुपातिक सूचीमा राखको थियो । तर, उनले समानुपातिकबाट नाम फिर्ता लिएर प्रत्यक्षमै उम्मेदवार दिइन् । हालै सम्पन्न निर्वाचनमा विजयी हासिर पनि गरिसकेकी छन् ।

संघर्षपूर्ण जीवन

रञ्जुको व्यक्तिगत जीवन पनि संघर्षपूर्ण छ । उनी आमाको गर्भमै हुँदा उनका बुवाले उनकी आमालाई छाडेका थिए । उनी मामाघरमै हुर्किइन् । आर्थिक कठिनाइ, सामाजिक चुनौती र पारिवारिक परिस्थितिका बीच उनकी आमाले उनको पढाइ रोक्न दिइनन् ।

उनकी आमाले सिलाइ–कटाइ गरेर र अरूका घरमा बच्चा स्याहारेर उनलाई पढाएकी थिइन् । त्यो संघर्षले उनलाई समाजप्रति संवेदनशील बनाउँदै लग्यो । यही प्रेरणाले पनि उनले विद्यालय जीवनमै सामाजिक काम सुरु गरेकी थिइन् । टोल सरसफाइ गर्ने, मजदुरका बालबालिकालाई अक्षर चिनाउने, दाइजो प्रथाविरुद्ध सडक नाटक गर्ने जस्ता गतिविधिमा उनी सक्रिय थिइन् । यस्ता गतिविधिबाट सक्रिय उनले राजनीति प्रवेश गरेको ९ वर्षपछि सांसद् बन्न सफल भएकी छिन् ।

२०५२ सालमा जन्मेकी रञ्जुले काठमाडौं विश्वविद्यालयबाट विकास अध्ययनमा स्नातक, त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा स्नातकोत्तर र परामर्श मनोविज्ञानमा पोस्टग्राजुएट डिप्लोमा पनि हासिल गरेकी छन् ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस