काठमाडौं, २८ फागुन । मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ जना नेपाली नागरिकको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले बिहीबार एक प्रस विज्ञप्ति जारी गर्दै कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा उनीहरूलाई नेपाल फर्काइएको जनाएको छ ।
कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाइन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका तथा बिना भिसा बसेका १६ जना नेपालीहरुको उद्धार गरिएको हो ।
यसैबीच कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकलाई पनि नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।
कम्बोडियामा केही नेपालीहरूलाई अनलाइन ठगी लगायतका गैरकानुनी गतिविधिमा लगाइएको तथा बिना भिसा वा भिसा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्किन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
राजदूतावासले स्क्यामिङ केन्द्रमा काम लगाइएको राहदानी कम्पनीले राख्ने गरेको वा स्थानान्तरणका क्रममा हराउने गरेको समस्या पनि सुनिएको जनाएको छ । यस्तो अवस्थामा नेपाल फर्कन चाहनेलाई राजदूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र (वन–वे ट्राभल परमिट) उपलब्ध गराउने व्यवस्था गरेको बताइएको छ ।
साथै राजदूतावासले नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो तथा धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशमा भ्रमणको बहानामा वैदेशिक रोजगारीका नआउन अनुरोध गरेको छ ।
