काठमाडौं, २८ फागुन । बुध्द एयरले जहाजको पूर्ण क्षमता सञ्चालनपछि कल साइन नाइनएन एजेजिरो रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ । टीआर–७२ जहाजको अधिक्तम उडान क्षमता ७२,००० साईकल हो । ‘साईकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ ।
यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको कम्पनीले जनाएको छ ।
१६ वर्षे उडान अवधिभर यो जहाजले ३८ हजार ४२४ वटा उडान सम्पन्न गरेको छ भने २४ लाख ८२ हजार ७ सय ७२ यात्रुलाई गन्तव्यसम्म पु¥याएको छ । यससँगै विश्वमै सबैभन्दा पहिले अवकाश लिने एटीआर ७२–५०० विमानहरूमध्ये एक बनेको छ ।

उक्त जहाजले कम्पनीको बजार बिस्तार तथा शाख बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले भने, ‘यो उपलब्धि केवल बुद्ध एयरका लागि मात्र होइन, एटीआर कम्पनीका लागि पनि ऐतिहासिक घटना हो । विश्वभर एटीआरका विमानहरूले लाखौं र करोडौं उडान चक्र पूरा गरेका छन्, तर पूरा जीवनकाल पूरा गरेर अवकाश लिने यो पहिलो विमान हो ।’
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौलाले बुध्द एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक विदाई गर्न सम्भव भएको बताए ।

एटीआर कम्पनीका सिनियर भाईस प्रेसिडेन्डेट स्टेफानो माराज्जनीले भने, ‘बुद्ध एयर एटीआरसँग साझेदारीको रूपमा काम गर्दै अगाडि बढिरहेकोमा हामी पनि खुसी छौँ । हामीलाई गर्व छ कि तपाईंहरूले यस्तो विमान डिजाइन र निर्माण गर्न सक्नुभयो । सही हातमा सुरक्षा र सही प्रविधि तथा वातावरणको साथमा, विमानले आफ्नो अन्तिम उडानसम्म सेवा दिन सक्षम भयो । यसले बुध्द एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’