काठमाडौं, २६ फागुन । सरकारले विकास ऋणपत्र बिक्रीमार्फत ६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।
नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गर्न लागेको हो । कार्यालयले ६ अर्ब रुपैयाँबराबरको ५ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८७’ जारी गर्न लागेको हो ।
सूचनाअनुसार यो विकास ऋणपत्रको बोलकबोल आज (मंगलबार) बिहान १० बजेदेखि ३ बजेसम्म हुनेछ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले तोकिएको सर्त पुरा गरेर ऋणपत्रका लागि आज ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन सकिने छ ।
घटीमा रु.पाँच लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु. पाँच लाखले भाग गर्दा निःशेष भाग जाने आवेदन दिनुपर्नेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलदाताको रुपमा मात्र भाग लिन सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
ऋणपत्रको ब्याज अर्धवार्षिक भुक्तानी हुनेछ । ब्याजदर बोलकबोलबाट तय हुनेछ । ऋणपत्र निष्कासन फागुन २७ गते र साँवा भुक्तानी २७ फागुन २०८७ मा हुनेछ ।