काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा दिनु भन्दा पार्टीलाई छिटो महाधिवेशनतर्फ लैजान सुझाव दिएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।’
समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको भण्डारीले उल्लेख गरेका छन् । ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
उनले अहिलेको अवस्थामा कांग्रेसलाई जोगाउनु नै सबैभन्दा ठूलो नैतिक दायित्व भएको पनि बताएका छन् । ‘आजको कटु यथार्थ के हो भने युवाहरूले कांग्रेसलाई छोड्दै गएको अवस्था छ,’उनले भनेका छन्, ‘यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन ।’
भण्डारीले नेपाली राजनीतिमा नैतिकता कमजोर बन्दै गएको टिप्पणी गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ ऊर्जा आवश्यक रहेको बताएका छन् ।
नेता भण्डारीले इच्छाशक्ति र साहस भए नेपाली कांग्रेसलाई पुनः बलियो बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।