सर्त बुझेर मात्रै वित्तीय कारोबारमा हस्ताक्षर गर्न राष्ट्र बैंकको सुझाव

अनलाइनसमय |
२६ फागुन २०८२
सर्त बुझेर मात्रै वित्तीय कारोबारमा हस्ताक्षर गर्न राष्ट्र बैंकको सुझाव

काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न नागरिकलाई सचेत गराएको छ । मंगलबार वित्तीय चेतनाका लागि एउटा सूचना गर्दै राष्ट्र बैंकले यस्तो सुझाव दिएको हो ।

‘जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवाप्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तको पूर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व हो’, राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसैले भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्त नुबझेसम्म प्रश्न सोध्ने गरौं ।’

ग्राहकले वित्तीय सेवा लिनुअघि सर्त पढ्ने र बुझ्ने गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । सूचनामा भनिएको छ, ‘नबुझिएमा प्रश्न सोधी प्रस्ट हुने र हस्ताक्षर गरिएका कागजको एउटा प्रति आफूले सुरक्षित राख्नुपर्दछ । ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुन्छ ।’

साथै नियमानुसार वित्तीय सेवा प्रदायकलाई आवश्यक पर्ने कारोबारसम्बन्धी सूचना र विवरण उपलब्ध गराउनु ग्राहकको दायित्व हुने राष्ट्र बैंकले जनाएको छ । ‘ग्राहकले सोधेका प्रश्नको सही र सरल जबाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवा प्रदायकको दायित्व हो’, सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस