काठमाडौं, २५ फागुन । आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ ।
सङ्घीय संसद् सचिवालयकाअनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउनेछन् ।
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ । त्यस्तै, उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एक÷एक प्रति लिएर जानुपर्नेछ ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने संसद् सचिवालयले जनाएको छ ।