काठमाडौं, २५ फागुन । एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि निष्काशन खुला गरेको उक्त आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
कम्पनीले ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसअन्तर्गत पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याइएको छ ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको मध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ । यसअन्तर्गत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीय बासिन्दा समेटिएका छन् ।
यस्तै, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्रका लागि छुट्याइएको छ । यसमा सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २ तथा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दा समावेश छन् ।
त्यसैगरी बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ । यो समूहमा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर २ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दा पर्नेछन् ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशनका लागि केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।