काठमाडौँ, २० फागुन । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ।
काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार/चार जना स्वयंसेवकले सेवा प्रदान गर्नेछन्। साथै ती स्वयंसेवकका अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ।
जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुनसक्ने अवस्थालाई दृष्टिगत गरी स्थानीय रूपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको जानकारी दिए। उनले भने, “प्राथमिक उपचार स्वयंसेवकले तत्काल प्राथमिक उपचार सेवा आवश्यक पर्नेलाई सेवा प्रदान गर्नेछन्।”
यसका लागि जिल्ला शाखाले प्राथमिक उपचार स्वयंसेवकहरूका लागि अभिमुखीकरणसमेत आयोजना गरेको थियो। अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पहुँच, मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक उपचारलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ।
शाखाले स्वयंसेवकहरूलाई मानवीय सेवाका विभिन्न गतिविधि सञ्चालनमा निरन्तर परिचालन गर्दै आएको जनाएको छ।