फेब्रुअरीमा १ लाख ५ हजार पर्यटक नेपाल भित्रिए

अनलाइनसमय |
१९ फागुन २०८२
फेब्रुअरीमा १ लाख ५ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं, १९ फागुन् । सन् २०२६ को फेब्रुअरीमा नेपालमा १ लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरीमा १ लाख ५ हजार ४४१ पर्यटकको आगमन भएको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा ८ दशमलव ८ प्रतिशतले बढी हो । २०२५ को फेब्रुअरीमा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए ।

२०१९ को तुलनामा समेत आगमनमा सुधार देखिएको छ । सो वर्षको फेब्रुअरीम १ लाख २ हजार ४ सय २३ पर्यटक आएको बोर्डको तथ्यांक छ ।

यस वर्षको फेब्रुअरीमा नेपाल आउने शीर्ष १० देशहरूमध्ये भारत पहिलो स्थानमा छ । सो भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो । गत वर्षको तुलनामा भने भारतबाट आउने पर्यटक १८.५ प्रतिशतले बढेको छ । सो वर्ष १९ हजार १ सय ८७ आएका थिए ।

भारतपछि सबैभन्दा धेरै चिनियाँ नागरिक नेपाल घुम्न आएका छन् । सो अवधिमा चीनबाट १० हजार ८ सय १६ पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा ३० दशमलव ६ प्रतिशतले बढी हो । २०२५ को फेब्रुअरीमा ८ हजार २८३ पर्यटक नेपाल घुम्न आएका थिए ।

त्यस्तै श्रीलंकाबाट आउने पर्यटक आगमनमा ७२ प्रतिशतले सुधार भएको छ । यस वर्ष श्रीलंकाबाट फेब्रुअरीमा मात्रै ७ हजार ५ सय १५ जना आएका छन् । अघिल्लो वर्ष त्यहाँबाट ४ हजार ३ सय ७० आएका थिए ।

अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या भने घटेको छ । यस वर्षको फेब्रुअरीमा ९ हजार ७ सय १० अमेरिकी नागरिक आएका छन् । गत वर्षसोही महिनामा १० हजार ३ सय ४८ पर्यटक आएका थिए ।

यसैगरी, म्यानमारबाट ६ हजार ३५, बेलायतबाट ५ हजार ६१८, बङ्गलादेशबाट ३ हजार २१२, जर्मनीबाट २ हजार ८५०, दक्षिण कोरियाबाट २ हजार ५५३, जापानबाट २ हजार ४१५, मलेसियाबाट २ हजार १३७ र अस्ट्रेलियाबाट १ हजार ४२६ पर्यटक नेपाल घुम्न आएको बोर्डले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस