काठमाडौं, १८ फागुन । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा उत्साहका साथ मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा सर्वसाधारणले एकापसमा रङ, अबिर र लोला खेल्दै वसन्त ऋतुको स्वागत गरेका छन् ।
आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सन्देश दिने फागु पर्व प्राचीनकालदेखि चलिआएको परम्परा हो । केही वर्षअघिसम्म उपत्यकामा उच्छृंखल ढंगले मनाइने यो पर्व पछिल्लो समय प्रहरी प्रशासनको सक्रियतापछि व्यवस्थित र मर्यादित बन्दै गएको देखिएको छ । सडकमा हिँड्ने सर्वसाधारणलाई इच्छा विपरीत रङ दल्ने तथा लोला हान्ने प्रवृत्ति प्रायः नियन्त्रणमा आएको छ ।
विशेषगरी युवतीहरूलाई लक्षित गरी पानी भरिएका लोला हानेर हैरानी दिने चलन यस वर्ष देखिन नआएको सर्वसाधारण बताउँछन् ।
काठमाडौंको वसन्तपुर क्षेत्रमा आज परम्पराअनुसार चिर ढाल्ने र टुँडिखेलमा लगी जलाउने कार्यक्रम हुँदैछ । चिरमा राखिएका ध्वजापताका शुभ मानिने विश्वासका साथ सर्वसाधारणले लिने चलन छ भने चिरको खरानीलाई टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहेको छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि चिर गाडेर पूजाआजा गरेसँगै फागु पर्वको औपचारिक सुरुवात गरिन्छ ।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्न होलिकालाई आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद सकुशल बचेका थिए । त्यसै घटनाको स्मरणमा असत्य र अत्याचारमाथि सत्यको विजयको प्रतीकका रूपमा होली मनाउने परम्परा बसेको विश्वास गरिन्छ । द्वापरयुगमा कंशले पठाएकी पुतना वधसँग पनि फागु पर्व जोडिएको धर्मशास्त्रविद्हरू बताउँछन् ।
आयुर्वेदविद्हरूका अनुसार प्राकृतिक रूपमा तयार पारिएका रङ तथा अबिरले छालासम्बन्धी समस्या न्यूनीकरण गर्न सहयोग पु¥याउँछन् । चिर जलाउँदा निस्कने धुवाँले वातावरणमा रहेका केही जीवाणु नष्ट गर्ने विश्वास पनि छ, जसले यस पर्वलाई सांस्कृतिकसँगै आयुर्वेदिक महत्वसमेत प्रदान गरेको छ ।
फागु पर्वका अवसरमा सरकारले हिमाली तथा पहाडी जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्पराअनुसार मंगलबार पर्व मनाइनेछ र सोही दिन सार्वजनिक बिदा दिइएको छ ।