काठमाडौं, १७ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न आग्रह गरेको छ ।
दूतावासले ‘एड्भाइजरी–२’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन तथा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे भ्रम फैलिने मनसायको सन्देश प्रवाह नगर्न आग्रह गरेको हो ।
दूतावासले भनेको छ, ‘युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको छ । यस्ता कार्य कानूनबमोजिम दण्डनीय हुने चेतावनी युएईका आधिकारिक निकायबाट जारी भएको छ ।’
साथै, परिस्थितिसम्बन्धी फोटो तथा भिडियो खिचेर पोस्ट गर्दासमेत जिम्मेवार बन्न दूतावासले अपिल गरेको छ ।
यस्तै, अपिलमा विकसित परिस्थितिबारे सही जानकारीका लागि युएईका आधिकारिक निकायले जारी गर्ने अपडेट र सूचना हेर्नसमेत अनुरोध गरिएको छ । आधिकारिक अपडेटका लागि सम्पर्क सूत्र पनि दिइएको छ ।
यसअघि पनि दूतावासले पहिलो एड्भाइजरी जारी गर्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको थियो ।
