काठमाडौं, १७ फागुन । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १ खर्ब १० अब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ८७ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत १ खर्ब १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।
यसका लागि आज (आइतबार) मध्यान्ह ३ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रू. १० करोड रुपैयाँ र बढीमा रू. ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।