काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गर्दै होली पर्वका अवसरमा राजनीतिक दल वा उम्मेदवारका निर्वाचन चिन्ह तथा तस्वीर अंकित भेष्ट, टि–सर्ट, कमिज, गम्छा लगायतका कपडा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(घ) उल्लेख गर्दै जुलुस, आमसभा वा प्रचारप्रसारमा दल वा उम्मेदवारको चिन्ह अंकित सामग्री प्रयोग गर्न नपाइने स्पष्ट गरेको हो ।
‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भन्ने व्यहोरा उल्लेख गरेको छ,’ सूचनामा भनिएको छ, ‘सो सम्बन्धमा होली पर्वलाई लक्षित गरी निर्वाचन चिन्ह र उम्मेदवारका तस्वीर अंकित भेष्ट, टि–सर्ट, कमिज, गम्छा, लगायतका कपडाहरु प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।’
होली पर्व मनाउने क्रममा निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि नगर्न/नगराउन सबै सरोकारवालालाई आग्रह गरेको छ ।
यस्तै, प्रशासनले होली पर्व मनाउने क्रममा सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति भंग गर्ने तथा कसैको इच्छा विपरीत रंग र पानीको लोला हान्ने जस्ता गतिविधि नगर्न आग्रह गरेको छ । यस्ता अमर्यादित कार्य गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जवरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ ।’
सूचनामा सार्वजनिक स्थानमा भीड जम्मा गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्ने जस्ता गतिविधि नगर्न अनुरोध गरिएको छ ।
‘आसन्न निर्वाचनको सुरक्षालाई मध्यनजर गरी धार्मिक तथा साँस्कृतिक रुपमा आ-आफ्नो घर कम्पाउण्ड भित्र अरु कोही कसैलाई बाधा अवरोध नपर्ने गरी आफन्त, परिवारजन, साथीसंगीहरु सँग यो पर्व मनाउन बाधा नपर्ने तर खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगितिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको विक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकुलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।
