चैत १ देखि आईपीओ ल्याउँदै बेनी हाइड्रोपावर

अनलाइनसमय |
१५ फागुन २०८२
चैत १ देखि आईपीओ ल्याउँदै बेनी हाइड्रोपावर

काठमाडौं, १५ फागुन । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीलाई जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० करोड ८० लाख रुपैयाँ मूल्यका २० लाख ८० हजार कित्ता साधारण शेयर बिक्री गर्न अनुमति पाएको छ । यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरका १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ ।

स्थानीयतर्फ छुट्याइएको शेयरमध्ये ५ लाख २० हजार कित्ता सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ । त्यस्तै, ३ लाख १२ हजार कित्ता वडा नम्बर ५, ६, ७ र ११ का स्थायी बासिन्दालाई र बाँकी २ लाख ८ हजार कित्ता सोलुखुम्बुका अन्य क्षेत्रका स्थायी बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

यसबाहेक सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ५ लाख रुपैयाँ बराबरका १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिनेछ । उक्त शेयरका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएका नेपालीले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म रहनेछ भने माग अनुसार नभरिएमा चैत ३० गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म तोकिएको छ ।

रेटिङ इक्रा नेपालले यस आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस