काठमाडौं, १३ फागुन । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं ३१ का सिंह आज पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् ।
हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
माउन्टेन रेस्क्यु सर्भिस प्रा. लि., एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स प्रा. लि. र नेपाल चार्टर सर्भिस प्रा. लि.लगायतका कम्पनीहरूले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाएर बीमा रकम दाबी गरी गैरकानूनी आर्थिक लाभ लिएको प्रमाण भेटिएको दावी गरिएको छ । सो कम्पनीहरूले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र बिमानस्थलका अभिलेखमा हेरफेर गरी प्यासेन्जर एण्ड कार्गो म्यानिफेस्ट फरक देखाएर बिल तयार गरेका थिए ।
यसैगरी, उद्धार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार गरिएको देखाउने कागजातहरू बनाएर बीमा रकम दावी गरिएको पाइएको छ । प्रहरीकाअनुसार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यस विषयलाई “A scam on the roof of the world” र “Stop providing cover to tourists travelling to Nepal/Silly announcement about Everest” जस्ता शीर्षकमा समाचार सम्प्रेषण गरेपछि नेपालको राष्ट्रिय प्रतिष्ठा र गरिमामा नकारात्मक असर पुगेको छ ।
