आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनसमय |
१३ फागुन २०८२
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं, १३ फागुन । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

सो शेयर खरिदका लागि दोलखा जिल्ला, बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, ८२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस