१६.४९ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, सात महिनामा १.११ खर्ब शुल्क संकलन

अनलाइनसमय |
१२ फागुन २०८२
१६.४९ प्रतिशतले बढ्यो जीवन बीमाको व्यवसाय, सात महिनामा १.११ खर्ब शुल्क संकलन

काठमाडौं, १२ फागुन । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को सात महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब नाघेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालू आवको माघसम्ममा १ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ व्यवसाय भएको थियो ।

व्यवसायमा उठेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्कबाट २५ अर्ब ११ करोड रुपैयाँ संकलन भएको छ । त्यस्तै नविकरण बीमाशुल्क मार्फत ८५ अर्ब ५९ करोड रुपैयाँ संकलन भएको छ । पहिलो माघसम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड १५ लाख १३ हजार ३७७ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

जीवन बीमा व्यवसाय गर्ने १४ बीमकहरु रहेका छन् । यी बीमक मध्ये सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेसनल लाइफ रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसगरी, हिमालयन लाइफ इन्स्योरेन्सले १० अर्ब ४३ करोड ६९ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ६६ करोड १७ लाख रुपैयाँ र एशियन लाइफले ५ अर्ब ५६ करोड २५ लाख, सिटिजन लाइफले ४ अर्ब ७३ करोड ९९ लाख, सानिमा रिलायन्सले ४ अर्ब २७ करोड ८० लाख, आईएमई लाइफले ३ अर्ब ८६ करोड, मेट लाइफले ३ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ४८ करोड, प्रभु महालक्ष्मीले ३ अर्ब २५ करोड र सन नेपाल लाइफले २ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस