जंगली बँदेल पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा

अनलाइनसमय |
१२ फागुन २०८२
जंगली बँदेल पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा

काठमाडौं, १२ फागुन । सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेल लखेट्न तथा पक्रन सहज गरेको हो ।

‘राज्यभित्रका निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जङ्गली बँदेललाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले एक वर्ष सम्मको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरी त्यस्ता जङ्गली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पु–याउने अवस्था भएमा त्यस्तो खेत खला बारीका धनीले देहायको सर्तको अधीनमा रही बिना अनुज्ञापत्र धपाउन लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’ राजपत्रमा प्रकाशित गरिएको सूचनामा भनिएको छ ।

मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पु¥याएमा किसान एक्लै वा सामुहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिने भएको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार बँदेललाई पक्रिएमा सो बँदेल सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्नेछ । सो क्रममा बँदेलको ज्यान गएमा वडाका एक प्रतिनिधि र ५ स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्न तथा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्व खातामा दाखिला गरी वडाभित्र (व्यापारिक प्रयोजन बाहेक) प्रयोग गर्न सकिने गरी तोकिएको छ । यसको सबै जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने छ ।

यद्यपी निकुन्ज वा आरक्षण र वन क्षेत्रमा पसेर यस्ता जनावर मार्न, पक्रन वा लखेट्न भने निषेध गरिएको छ ।

मन्त्रालयले यसअघि २०८० मंसिर ७ मा बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो । त्यसपछि २०८१ माघ १० देखि लागू हुने गरी एक वर्षका लागि बँदेल र रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस