काठमाडौं, १२ फागुन । इरानले अमेरिकाको कुनै पनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाले इरानविरुद्ध जुनसुकै स्तर वा आकारको आक्रमण गरे पनि त्यसलाई आक्रमणको कार्यका रूपमा लिइनेछ र त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘यदि इरान र अमेरिकाबीच पुनः सुरु भएको अप्रत्यक्ष आणविक वार्ता युद्धतर्फ जान्छ भने इरानका सशस्त्र बलहरूले उपयुक्त जवाफ दिनेछन् र देशको रक्षा गर्न चौबीसै घण्टा सतर्क र तयारी अवस्थामा रहेका छन् ।’
उनले कूटनीतिक वार्तासँगै इरानी सशस्त्र बलहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय गतिविधिहरूलाई नजिकबाट निगरानी गरिरहेको बताए । बाघेईले इरान कूटनीतिक मार्गलाई अघि बढाउन गम्भीर रहेको उल्लेख गर्दै हाल अमेरिकासँगको नयाँ चरणको वार्ताका लागि आफ्नो रणनीति तयार गरिरहेको र आगामी दिनहरूमा पुनः वार्ता हुने आशा व्यक्त गरे ।
यसैबीच, उनले इरान लगातार केही दिन वा हप्तासम्म वार्ता गर्न तयार रहेको बताए । तर, १० दिन वा दुई हप्ताको अन्तरालमा वार्ता गर्ने ढाँचा इरानको प्राथमिकतामा नभएको स्पष्ट पारे । सरकारी समाचार संस्था इरनाले उनलाई उद्धृत गर्दै लेखेको छ, ‘वार्ताको प्रक्रिया लम्ब्याउनुमा हाम्रो कुनै फाइदा छैन ।’
यस महिनाको सुरुवातमा इरान र अमेरिकाका प्रतिनिधिमण्डलहरूले ओमानको राजधानी मस्कट र जेनेभामा दुई चरणका अप्रत्यक्ष आणविक वार्ता गरेका थिए । अर्को चरणको वार्ता बिहीबार जेनेभामा हुने अपेक्षा गरिएको छ ।
अमेरिका र इरानबीच तनाव बढिरहेका बेला तथा पश्चिम एसिया क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमा वृद्धि भइरहेका सन्दर्भमा यो नयाँ कूटनीतिक प्रक्रिया अघि बढाइएको हो ।