पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला

अनलाइनसमय |
१२ फागुन २०८२
पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला

काठमाडौं, १२ फागुन । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भइसकेपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरेको हो ।

कम्पनीलाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो । सोमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो ।

यसैगरी २ लाख ८१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा सोही संख्यामा २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिएको छ ।

अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनअघि गरिएको मूल्याङ्कनमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस