काठमाडौं, ११ फागुन । पाकिस्तानले अफगानिस्तानका पूर्वी प्रान्तहरूमा गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरिएको छ । जियो न्युजले इस्लामाबादस्थित सुरक्षा स्रोतलाई उद्वत गर्दै नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा आक्रमण गरिएको जनाएको हो ।
पाकिस्तानी पक्षका अनुसार हालै भएका आत्मघाती विस्फोटहरूको प्रतिक्रियास्वरूप सीमापार कारबाही तीव्र बनाइएको हो । लक्षित स्थानहरूमा नङ्गरहार र खोस्तका विभिन्न कथित शिविर तथा केन्द्रहरू रहेका जनाइएको छ । पाकिस्तानले ती स्थानहरू प्रतिबन्धित समूहहरूसँग सम्बन्धित रहेको दाबी गरेको छ ।
यसअघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार अपरेसनमार्फत करिब ७० जना आतङ्ककारीलाई निष्क्रिय बनाइएको बताएका थिए । उनले “जियो पाकिस्तान” कार्यक्रममा बोल्दै अफगान भू–भागबाट पाकिस्तानविरुद्ध गतिविधि सञ्चालन भइरहेको आरोप लगाए । पाकिस्तानले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चालिरहेको र हजारौँ गुप्तचर–आधारित अपरेसन सञ्चालन गरिएको पनि उनको भनाइ छ ।