काठमाडौं, ११ फागुन । वीरगञ्जमा पछिल्लो समय देखिएको सुरक्षा संवेदनशीलताका कारण स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ९ः४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार अर्को आदेश नआएसम्म सर्वसाधारणको आवतजावत, जमघट तथा कुनै पनि प्रकारका सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको छ ।
प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको सिमाना स्पष्ट गर्दै पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल–भारत सीमा नजिक रहेको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभागलाई समेटिएको जनाएको छ । उक्त क्षेत्रभित्र जुलुस, सभा, बैठक, घेराउ लगायतका गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइएको हो ।
यद्यपि, अत्यावश्यक तथा मानवीय सेवामा भने प्रशासनले सहजीकरण गर्ने जनाएको छ । एम्बुलेन्स, दमकल, शव वाहन तथा स्वास्थ्यकर्मीका सवारी साधनलाई निर्बाध सञ्चालनको अनुमति दिइएको छ । साथै सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षामा सहभागी विद्यार्थी तथा कर्मचारी, पर्यटक र कूटनीतिक नियोगका सवारी साधनलाई समेत सुरक्षाकर्मीमार्फत आवश्यक सहयोग उपलब्ध गराइने बताइएको छ । हवाई टिकट भएका यात्रुहरूको आवागमनमा पनि अवरोध नहुने प्रशासनले स्पष्ट पारेको छ ।
हाल वीरगञ्जका प्रमुख चोक र संवेदनशील स्थानहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पछिल्ला घटनाक्रमले सुरक्षा चुनौती बढाएको र सामाजिक सद्भावमा असर पर्न सक्ने संकेत देखिएपछि प्रशासनले कडा कदम चालेको जनाइएको छ ।