काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष (आव) २०८२/८३ को सात महिनामा करिब १३ खर्बको वैदेशिक व्यापार गरेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालू आवको माघ मसान्तसम्ममा १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १० दशमलव ९१ प्रतिशतले बढी हो । गत आवको सात महिनामा नेपालले ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँको व्यापार गरेको थियो ।
चालू आवको माघसम्ममा साढे ९ खर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको माघसम्मको तुलनामा १० दशमलव ९१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपाल वैदेशिक व्यापारमा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँको घाटामा थियो ।
यसैगरी एक वर्ष अवधिको तुलनामा निर्यात ३२ दशमलव १९ प्रतिशतले बढेको छ । गत आवको माघसम्ममा १ खर्ब २७ अर्ब २० करोडको निर्यात गरेकोमा चालू आवको यसै अवधिमा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।
त्यस्तै, चालू आवको माघसम्ममा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३ दशमलव ६५ प्रतिशतले बढी हो । गत आवको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोडको व्यापार भएको थियो ।