दाङमा रास्वपाले झण्डा जलाइदिएपछि एमालेले भन्यो– राजनीतिक अपरिपक्वताको पराकास्ठा

अनलाइनसमय |
८ फागुन २०८२
दाङमा रास्वपाले झण्डा जलाइदिएपछि एमालेले भन्यो– राजनीतिक अपरिपक्वताको पराकास्ठा

काठमाडौं, ८ फागुन । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बन्धित व्यक्तिहरूले एमालेको झण्डा जलाएको घटनाप्रति पार्टीले कडा आपत्ति जनाउँदै यसलाई “राजनीतिक अपरिपक्वताको पराकाष्ठा” भनेको छ ।

शुक्रबार एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै रास्वपालाई जिम्मेवार राजनीतिक शक्तिको रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘उग्रता र उत्तेजनाको सहारामा क्षणिक चर्चाको खोजी गर्नु राजनीतिक अपरिपक्वताको पराकास्ठा मात्र हो । लोकतान्त्रिक प्रतिष्पर्धा मर्यादित व्यवहार, तथ्यमा आधारित आचोचना र वैचारिक स्पष्टताबाट सुदृढ हुन्छ–अराजक प्रदर्शनबाट होईन ।’

रास्वपा कार्यकर्ताहरुले विहीबार राति दाङको तुलसीपुर बजारमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न सूर्य अंकित झण्डा जलाएका थिए ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अशोभनीय नारा लगाउने र पार्टीको झण्डा जलाउने गतिविधि लोकतान्त्रिक संस्कार, राजनीतिक शिष्टाचार र विधिको शासनमाथिको खुला प्रहार भएको विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार अराजकता, उच्छृङखलता र विद्वेषपूर्ण आचरणको अनुमतिपत्र होईन,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक असहमति विचार, बहस र जनमतमार्फत व्यक्त गरिनुपर्छ, हिंसात्मक र उत्तेजक व्यवहारमार्फत होईन । झण्डा जलाउने जस्ता कार्यले केवल राजनीतिक असहिष्णुता मात्र होईन, लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको अनादर पनि उजागर गर्दछ ।’

आचार्यले पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूलाई लोकतान्त्रिक मूल्य, विधिको शासन र सभ्य राजनीतिक संस्कारको पक्षमा उच्च मनोबलका साथ उभिन अपिल गरेका छन् । साथै, समाजमा बढ्न सक्ने हिंसा, विध्वंस र कानुन उल्लंघनका घटनाप्रति सम्बन्धित पक्ष र सरकारले जिम्मेवारी लिनुपर्ने चेतावनी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस