अप्रिलदेखि मेसेन्जरको वेबसाइट बन्द गर्दै मेटा, अब प्रयोगकर्ताले सन्देश पठाउन फेसबुकमै जानुपर्ने

अनलाइनसमय |
८ फागुन २०८२
अप्रिलदेखि मेसेन्जरको वेबसाइट बन्द गर्दै मेटा, अब प्रयोगकर्ताले सन्देश पठाउन फेसबुकमै जानुपर्ने

काठमाडौं, ८ फागुन । मेटाले आफ्नो लोकप्रिय मेसेजिङ सेवा मेसेन्जरको छुट्टै मेसेन्जर वेबसाइट (मेसेन्जर डट कम) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो आधिकारिक हेल्प पेजमार्फत सन् २०२६ को अप्रिल महिनादेखि यो वेबसाइट उपलब्ध नहुने जानकारी दिएको हो । त्यसपछि वेबमार्फत सन्देश पठाउन–पढ्न चाहने प्रयोगकर्ताले फेसबुकमा लगइन गरेर प्रयोग गर्नुपर्नेछ ।

साथै यो वेबसाइट बन्द भएपछि कम्प्युटरमा मेसेन्जर चलाउन खोज्ने प्रयोगकर्ताहरूलाई स्वचालित रूपमा फेसबुकको मुख्य वेबसाइटभित्र रहेको मेसेज सेक्सन (ाबअभदययप.अयm÷mभककबनभक) मा पठाइनेछ । प्रयोगकर्ताहरूले मोबाइलमा भने मेसेन्जर एप पहिले झैँ प्रयोग गर्न सक्नेछन् ।
मेटाले हेल्प पेजमा भनेको छ, ‘मेसेन्जर डट कम बन्द भएपछि, कम्प्युटरमा सन्देश पठाउन तपाईं स्वतः फेसबुक डट कम स्ल्यास मेसेजेस मा रिडाइरेक्ट हुनुहुनेछ । तपाईंले त्यहाँ वा मेसेन्जर मोबाइल एपमार्फत आफ्ना कुराकानीहरू जारी राख्न सक्नुहुन्छ ।’

फेसबुक अकाउन्ट नभएका वा आफ्नो फेसबुक अकाउन्ट निष्क्रिय गरेका प्रयोगकर्ताहरूले अब कम्प्युटर वा वेब ब्राउजरमा मेसेन्जर चलाउन पाउने छैनन् र उनीहरू केवल मोबाइल एपमा मात्र सीमित हुनुपर्ने छ । वेबसाइट बन्द भए पनि प्रयोगकर्ताहरूले आफ्नो पुरानो च्याट हिस्ट्री सुरक्षित रूपमा हेर्न पाउनेछन् । यसका लागि प्रयोगकर्ताले मेसेन्जरमा ब्याकअप गर्दा सेट गरेको पिन प्रयोग गरेर गर्नुपर्ने छ । यदि पिन बिर्सिएमा त्यसलाई रिसेट गर्न सकिने पनि मेटाले बताएको छ ।

केही महिनाअघि मेटाले विन्डोज र म्याकका लागि उपलब्ध मेसेन्जरका छुट्टै डेस्कटप एपहरू बन्द गरेपछि यो निर्णय आएको हो । त्यतिबेला पनि कम्पनीले प्रयोगकर्तालाई मेसेन्जर वेबसाइटभन्दा फेसबुक वेबसाइट प्रयोग गर्न रिडाइरेक्ट गर्न थालेको थियो ।

यो परिवर्तन सबैभन्दा पहिले रिभर्स इन्जिनियर एलेस्सान्द्रो पालुज्जीले पत्ता लगाएका थिए । हाल मेटाले मेसेन्जर वेबसाइट र एपमा पप–अप सन्देशमार्फत प्रयोगकर्तालाई यो अपडेटबारे जानकारी दिइरहेको छ ।

सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले भने यो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । विशेष गरी फेसबुक खाता निष्क्रिय गरेका व्यक्तिहरूले अब वेबमार्फत मेसेन्जर चलाउन फेसबुक वेबसाइटमा निर्भर हुनुपर्दा असहज महसुस गरिरहेको बताएका छन् ।

यद्यपि, विभिन्न मेसेन्जर प्लेटफर्म बन्द गर्ने मेटाको निर्णय प्रयोगकर्ताका लागि असुविधाजनक भए पनि यसले कम्पनीलाई कम प्लेटफर्म व्यवस्थापन गर्नुपर्ने भएकाले लागत घटाउन मद्दत गर्ने भएकोले यो कदम चालिएको बताइएको छ ।

मेसेन्जर पहिलो पटक सन् २००८ मा ‘फेसबुक च्याट’ का रूपमा सुरु भएको थियो । सन् २०११ मा फेसबुक (हाल मेटा) ले फेसबुक मेसेन्जर लाई छुट्टै एपका रूपमा सार्वजनिक गरेको थिया े। वर्षौँसम्म कम्पनीले मेसेन्जरलाई फेसबुक भन्दा अलग सेवा जस्तो गरी विकास ग¥यो । सन् २०१४ मा मुख्य फेसबुक मोबाइल एपबाट सन्देश पठाउने सुविधा हटाएर प्रयोगकर्तालाई मेसेन्जर एपतर्फ धकेलिएको थियो । तर, सन् २०२३ मा कम्पनीले पुनः मेसेन्जर लाई फेसबुक एपसँग गाभ्न थालेको थियो ।

मेटाले यसबारे थप टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया भने दिएको छैन । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस