काठमाडौं, ७ फागुन । अमेरिकाले आगामी केही महिनाभित्र सिरियामा रहेका बाँकी अधिकांश सैनिक फिर्ता बोलाउने तयारी गरेको छ ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार सिरियाली सरकारले आफ्नो सीमाभित्र आतंकवादविरुद्धको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्न सहमति जनाएकाले ठूलो संख्यामा अमेरिकी सैनिक उपस्थितिको आवश्यकता अब नरहेको बताइएको बीबीसीमा उल्लेख छ ।
अमेरिकी सैनिकहरू सन् २०१५ देखि सिरियामा तैनाथ छन ्। उनीहरू इस्लामिक स्टेट (आईएस) समूहको प्रभाव नियन्त्रण गर्न सञ्चालन गरिएको आतंकवादविरुद्धको अभियानअन्तर्गत त्यहाँ खटिएका थिए ।
इरानसँग तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रमा सैन्य उपस्थिति बढाइरहेका बेला यो निर्णय आएको हो । ती अधिकारीले करिब १ हजार बाँकी सैनिकलाई सिरियाबाट हटाउने निर्णय अवस्था–आधारितसंक्रमण प्रक्रियाको हिस्सा भएको बताएका छन् । साथै, क्षेत्रीय सुरक्षामा कुनै खतरा उत्पन्न भए अमेरिकाले जवाफ दिन तयार रहेको पनि उनले बताएका छन् ।
विश्वकै सबैभन्दा ठूलो युद्धपोत मानिने युएसएस जेराल्ड आर फोर्डलाई अमेरिकाले मध्यपूर्व पठाएको बताइएको छ, जुन आगामी तीन साताभित्र त्यहाँ पुग्ने अपेक्षा गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म इरानमाथि सम्भावित आक्रमणका लागि अमेरिकी सेना तयार रहने बताएका छन्, तर उनले अन्तिम निर्णय भने अझै लिएका छैनन् ।
सिरियामा यस वर्षको सुरुवातमै अमेरिकी सैनिकहरूले दक्षिणी सिरियास्थित अल–तान्फ गारिसन र उत्तर–पूर्वस्थित अल–शद्दादी आधार शिविर छोडिसकेका थिए ।
यी गतिविधिहरू सन् २०२४ मा असद सरकार पतन भएपछि र सिरियामा सुरक्षामा उल्लेख्य सुधारसँगै इस्लामिक स्टेट कमजोर बनेपछि भएका हुन् ।