काठमाडौं, ७ फागुन । फागुन ७ गते आज देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । निरङ्कुश राणा शासनविरुद्ध भएको २००७ सालको जनक्रान्ति सफल भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।
शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले देश र जनताको स्वतन्त्रताका लागि हाँसीहँसी प्राण आहुति दिएपछि जनआन्दोलनले राणा शासनको अन्त्य गरेको थियो । यही बलिदान र जनसंघर्षको परिणामस्वरूप नेपालमा प्रजातान्त्रिक अभ्यासको थालनी भएको मानिन्छ ।
प्रजातन्त्र स्थापनापछि नेपाली नागरिकले क्रमशः आफ्ना मौलिक अधिकारको उपयोग गर्दै आएका छन् । हाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत प्रजातान्त्रिक मूल्य, मान्यता र व्यवहारलाई संवैधानिक रूपमै संस्थागत गरिएको छ, जसको जग २००७ सालको जनक्रान्तिले तयार पारेको इतिहासकारहरू बताउँछन् ।
दिवसको अवसरमा मूल समारोह आज काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमसहित आयोजना हुँदैछ ।