काठमाडौं, ५ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जेनेभामा सुरु हुन लागेको इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्तामा आफू अप्रत्यक्ष रूपमा संलग्न हुने बताएका छन् । एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान आफ्नो आणविक कार्यक्रमबारे सम्झौता गर्न इच्छुक रहेको विश्वास व्यक्त गरे ।
स्विट्जरल्यान्डमा हुने दोस्रो चरणको वार्ता इरानले सरकारविरुद्धका प्रदर्शनमा गरेको घातक दमन र यसको आणविक कार्यक्रमसम्बन्धी विवादका कारण इरानमाथि दोहोरिएका सैन्य चेतावनीबीच हुन लागेको हो ।
सोमबार तेहरानस्थित विदेश मन्त्रालयले आणविक विषयमा अमेरिकाको धारणा अझ यथार्थपरक दिशातर्फ अघि बढेको आफूले विश्वास गरेको जनाएको थियो । इरानले मंगलबारको बैठक ओमानको मध्यस्थतामा हुने र यसमा आफ्नो आणविक कार्यक्रम तथा अमेरिकाले लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने विषयमा केन्द्रित हुने बताएको छ ।
वासिङ्टनले भने यसअघि इरानको मिसाइल भण्डारजस्ता अन्य विषयहरू पनि छलफलमा ल्याउन चाहेको संकेत दिएको थियो । वार्तालाई अत्यन्त महत्त्वपूर्ण भन्दै ट्रम्पले यसपटक तेहरान वार्ताका लागि प्रेरित भएको सुझाव दिए ।
‘मलाई लाग्दैन कि उनीहरू सम्झौता नगर्दाको परिणाम चाहन्छन्,’ ट्रम्पले भने, ‘हामीले बी–२ बमवर्षक पठाएर उनीहरूको आणविक क्षमता ध्वस्त पार्नुको सट्टा सम्झौता गर्न सक्थ्यौं । तर हामीले बी–२ पठाउनै पर्यो । म आशा गर्छु, उनीहरू यसपटक बढी यथार्थपरक हुनेछन् ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही सातादेखि इरानविरुद्ध सैन्य कारबाहीको चेतावनी दिँदै आएका छन् । गत महिना उनले इरानी नेताहरूलाई सरकारद्वारा प्रदर्शनकारीहरूको हत्या नरोकिए आक्रमणको आदेश दिन तयार रहेको चेतावनी दिएका थिए । शुक्रबार उनले इरानमा शासन परिवर्तन नै सबैभन्दा राम्रो विकल्प हुन सक्छ भन्ने विश्वास व्यक्त गरेका थिए ।
अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’लाई पनि मध्यपूर्वतर्फ पठाएको बताइएको छ, जुन आगामी तीन हप्ताभित्र उक्त क्षेत्रमा पुग्न सक्ने अनुमान गरिएको छ । उडान निगरानी तथ्यांकअनुसार पछिल्ला हप्ताहरूमा दर्जनौं अमेरिकी सैन्य कार्गो विमानहरूले अमेरिका बाट जोर्डन, बहराइन र साउदी अरेबियामा उपकरण ढुवानी गरेका छन् ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले सोमबार संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायका प्रमुखसँग भेट गरेका थिए । उनले एक्समा लेख्दै आफू निष्पक्ष र न्यायोचित सम्झौता हासिल गर्न जेनेभामा रहेको बताएका छन् । ‘धम्कीअगाडि आत्मसमर्पण गर्ने कुरा वार्ताको एजेन्डामा छैन,’ अराघचीले भने ।
अमेरिकी सैन्य उपस्थितिको विस्तारप्रति इरानले पनि शक्ति प्रदर्शनमार्फत प्रतिक्रिया दिएको छ । सोमबार इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स (आईआरजीसी) ले ओमान र इरानबीच पर्ने होर्मुज जलडमरूमध्यमा समुद्री अभ्यास सञ्चालन गरेको छ । यो जलडमरूमध्यलाई अन्तर्राष्ट्रिय रूपमा अत्यन्त महत्वपूर्ण जलमार्ग मानिन्छ, जहाँबाट खाडीका अरब राष्ट्रहरूले तेल निर्यात गर्छन् ।
ह्वाइट हाउसका अनुसार अमेरिकाले मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरलाई पनि पठाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तेहरानसँग सम्झौता गर्न धेरै कठिन हुने बताएका छन् ।
‘कूटनीतिक रूपमा सहमति पुग्ने अवसर त छ जस्तो लाग्छ, तर म यसलाई बढाइचढाइ गर्न चाहन्न,’ रुबियोले सोमबार हंगेरी भ्रमणका क्रममा भने, ‘यो सजिलो हुने छैन ’