काठमाडौं, ५ फागुन । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज मंगलबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो ।
कम्पनीलाई आफ्नो १ अर्ब ५५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त भएको थियो । सो अनुसार १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई र १ लाख ५५ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूलाई वितरण गरिसकिएको छ । साथै ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई समेत बाँडफाँट भइसकेको छ ।
दोस्रो चरणअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएर बाँकी १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यी शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते बन्द हुने जनाएको छ ।
कम्पनीको वित्तीय दायित्व बहन क्षमताको मूल्यांकन गर्दै केयर रेटिङ्ग नेपाल ले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ ।