काठमाडौं, ४ फागुन । गत पुसको तुलनमा माघमा घरजग्गा कारोबार र यसबाट उठ्ने आम्दानी दुबै घटेको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को माघमा ५० हजार ८३७ घरजग्गाको लिखत पारित भएको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा २ दशमलव ०२ प्रतिशतले कम हो । अघिल्लो महिना पुसमा ५१ हजार ८८८ घरजग्गाको लिखत पारित भएको छ ।
माघमा यसबाट प्राप्त हुने आम्दानी समेत घटेको छ । पुसमा ५ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबरको राजस्व उठेकोमा माघमा घरजग्गा कारोबारबाट ५ अर्ब ९९ लाख रुपैयाँ मात्रै राजस्व स्ंकलन भएको छ । सो महिनामा सेवा करबाट ३१ करोड ५८ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख र पुँजीगत लाभकरबाट १ अर्ब ९६ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
चालू आवको सुरुवातदेखि नै घट्दै गएको घरजग्गा कारोबार पछिल्लो दुई महिनामा बढेको थियो । मंसिरमा ५१ हजार ६३२ घरजग्गाको लिखत पारित भएको थियो । साउनमा ४३ हजार ८३५ घरजग्गाको कारोबार भएको थियो, तर त्यसयता कात्तिकसम्म लगातार यस्तो कारोबार ओरालो लाग्यो । भदौमा घटेर ३२ हजार ७२९ घरजग्गाको कारोबार असोजमा फेरि घटेर ३० हजारमा झरेको थियो । कात्तिकमा घरजग्गाको लिखत पारित घटेर २८ हजारमा सीमित भएको थियो । कात्तिक अन्तिम साता सरकारले सरकारले भू–उपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुलाएसँगै मंसिरमा यस्तो कारोबार ५० हजार नाघेको थियो ।
यसैगरी माघमा सबैभन्दा धेरै घरजग्गाको कारोबार गर्नेमा सुनसरीको इनरूवा मालपोत रहेको छ । यो कार्यालयले माघमा १ हजार ८७३ घरजग्गा लिखत पारित गरेको छ । सुनसरीपछि झपाको भद्रपुर कार्यालयबाट १ हजार ७७१ वटा घरजग्गाको कारोबार भएको छ । त्यस्तै, बेलवारी, मोरङको मालपोत कार्यालयबाट १ हजार ७२९, धनुषाको जनकपुरधाम कार्यालयबाट १ हजार ५९६, धनगढी कार्यालबाट १ हजार २२३, दाङ तुलसीपुर कार्यालयबाट १ हजार १९८ र सप्तरीबाट १ हजार २२० वटा घरजग्गाको कारोबार भएका छन् ।
काठमाडौं उपत्यकाको हकमा घरजग्गाको किनबेच सबैभन्दा बढी भक्तपुरले गेरेको देखिन्छ । भक्तपुर मालपोतले माघमा १ हजार १४८ घरजग्गाको लिखत पारित गरेको छ । त्यस्तै लगनखेल मालपोतले ९७३, कलङ्की मालपोतले ७८९ र चाबहिल मालपोतले ६१६ वटा घरजग्गाको कारोबार गरेको छ ।