आज महाशिवरात्रि पर्व मनाइँदै

अनलाइनसमय |
३ फागुन २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं, ३ फागुन । भगवान् शिवको आराधना गरी मनाइने महाशिवरात्रि पर्व आज देशभर विधिपूर्वक मनाइँदैछ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा पर्ने यस पर्वका अवसरमा श्रद्धालुहरू शिव मन्दिरमा पुगेर पूजाआराधना तथा दर्शन गर्दैछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि रहेकामा त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म रहनेछ । मध्यरातमा चतुर्दशी तिथि आइतबार परेकाले आजकै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

शास्त्रीय मान्यताअनुसार फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा परब्रह्मले शिवरूप धारण गरेको विश्वास छ । यसै समय शिवको पूजा, आराधना र दर्शन गरेमा यस लोकमा सुख–शान्ति तथा परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको बताइन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्तिपूर्वक पूजा गर्दैछन् । शिवजी उत्पत्ति भएको रातसँग सम्बन्धित भएकाले यस पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार पवित्र रात्रिमध्ये एकका रूपमा शिवपुराणलगायत धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई दीनदुःखी तथा पीडित प्राणीको हृदयमा धर्मभाव जागृत गराउने आशुतोष भगवान् शिवको प्रिय दिनका रूपमा लिने गरिन्छ । माघ महिनामा रुद्रत्वका कारण जीर्ण बनेका रुख–बिरुवा फागुनमा पुनः पलाउन थाल्नु शिवत्व अर्थात् कल्याणकारी तत्वको प्रतीक भएकाले यस पर्व मनाइने जनविश्वास छ ।

व्रतमध्ये उत्तम मानिने महाशिवरात्रिका अवसरमा भक्तजन शुद्ध भई व्रत बस्ने, शिव मन्दिरमा पूजाअर्चना गर्ने तथा दूध, धतुरो र बेलपत्र चढाउने परम्परा छ । आज उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । महादेवलाई जाडो हुने मान्यताअनुसार घर–घर, चोक र मठमन्दिरमा धुनी बालेर भजनकीर्तन गर्ने तथा सोही आगोमा तयार गरिएको प्रसाद ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा मनाइने महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा चार प्रहरमा विशेष पूजा, महादीप, अखण्डदीप, लक्ष्यबत्ती, दीपोत्सव तथा लाखौँ बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वर क्षेत्रमा शास्त्रीय नाचगान प्रस्तुत गरिन्छ । शिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शन र मेलामा सहभागी हुन देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थयात्रीको ठूलो भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस