परिवर्तन भयो सुपर खुदी हाइड्रोपावरको आईपीओ आउने मिति, अब कहिले खुला हुन्छ ?

अनलाइनसमय |
१ फागुन २०८२
परिवर्तन भयो सुपर खुदी हाइड्रोपावरको आईपीओ आउने मिति, अब कहिले खुला हुन्छ ?

काठमाडौं, १ फागुन । सुपर खुदी हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि जारी गर्ने आईपीओको मिति परिवर्तन गरेको छ । यसअघि फागुन ४ गतेदेखि खुला गर्ने तयारी गरिएको आईपीओ अब फागुन ५ गतेबाट मात्र आवेदनका लागि खुला गरिने कम्पनीले जनाएको हो ।

अन्य कम्पनीको आईपीओ समयतालिकासँग जुध्न गएपछि सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले पत्राचार गर्दै ध्यानाकर्षण गराएपछि कम्पनीले निष्काशन मिति एक दिन पछि सारेको हो ।

सुपर खुदीले १ अर्ब ५५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबर ३१ करोड रुपैयाँ मूल्यका ३१ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । त्यसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ । साथै ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूमा समेत वितरण भइसकेको छ ।

अब कम्पनीले दोस्रो चरणअन्तर्गत कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याएर बाँकी १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

निष्काशन मिति एक दिन पछि सरेसँगै बन्द हुने मिति पनि परिमार्जन गरिएको छ । संशोधित तालिका अनुसार छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस