त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र १ महिनासम्म निषेधाज्ञा जारी

अनलाइनसमय |
२९ माघ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र १ महिनासम्म निषेधाज्ञा जारी

काठमाडौं, २९ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते देखि प्रदर्शन गर्ने भन्दै केही समूह तथा राजनीतिक दलहरूले विज्ञप्ति जारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेध आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा भनिएको छ ।

विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासको क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभालगायतका विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने आदेशमा उल्लेख छ ।

साथै सामाजिक सञ्जालमार्फत यस्ता गतिविधि गर्न उक्साउने वा प्रेरित गर्ने कार्य नगर्न पनि चेतावनी दिइएको छ । निषेधित क्षेत्रमा कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस