अमेरिकी अटो उद्योग आर्थिक संकटमा

अनलाइनसमय |
२८ माघ २०८२
अमेरिकी अटो उद्योग आर्थिक संकटमा

काठमाडौं, २८ माघ । अमेरिकाको अटो उद्योग पछिल्लो समय आर्थिक दबाबमा परेको छ । यसैक्रममा प्रमुख अटो निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो त्रैमासिकमा ठूलो मात्रामा घाटा व्यहोरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यो सन् २००८ को विश्व आर्थिक मन्दीपछि देखिएको सबैभन्दा ठूलो त्रैमासिक नोक्सानमध्ये एक हो ।

उक्त अवधिमा करिब ४५ दशमलव ९ अर्ब अमेरिकी डलर आम्दानी भए पनि नाफा कायम राख्न कम्पनी असफल भएको जनाएको छ । उच्च आयात शुल्क, कच्चा पदार्थको मूल्यमा वृद्धि, उत्पादन खर्च बढ्नु तथा आपूर्ति शृंखलामा देखिएको अवरोधले वित्तीय अवस्था कमजोर बनाएको उल्लेख गरिएको छ । विशेषगरी आयातित अटो पाट्र्समा लाग्ने अतिरिक्त कर तथा शुल्कले लागत अझै बढाएको कम्पनीको भनाइ छ ।

विद्युतीय सवारी (इभि) उत्पादनमा धेरै लगानी र संरचनात्मक पुनर्संरचनासम्बन्धी खर्चले पनि घाटा बढाएको जनाइएको छ । नयाँ प्रविधिमा रूपान्तरण गर्ने क्रममा प्रारम्भिक चरणमा ठूलो लगानी आवश्यक पर्ने भएकाले अल्पकालीन नतिजामा दबाब परेको विश्लेषकहरूको टिप्पणी छ ।

फोर्डका प्रमुख कार्यकारी अधिकृतले आगामी वर्ष लागत नियन्त्रण, उत्पादन प्रक्रियामा दक्षता वृद्धि तथा प्रतिस्पर्धी नयाँ मोडेल बजारमा ल्याएर कम्पनीको वित्तीय अवस्था सुधार गर्ने योजना रहेको बताएका छन् । कम्पनीले सन् २०२६ सम्म ब्याज र करअघिको नाफामा उल्लेखनीय सुधार हुने अपेक्षा पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस