काठमाडौं, २८ माघ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ । सेबोनले यसअघि रहेको २०७४ को निर्देशिकालाई खारेज गर्दै मंगलबार नयाँ व्यवस्थासहितको निर्देशिका जारी गरेको हो । नयाँ निर्देशिका आगामी फागुन १ गतेदेखि लागू हुने सेबोनले बताएको छ ।
यो निर्देशिका जारी भएसँगै शेयर लगानीकर्ताहरूलाई धितोपत्र दलाल व्यवसायीमार्फत शेयर खरिद गर्नका लागि ऋण (मार्जिन) सुविधा प्राप्त गर्ने बाटो खोलेको छ ।
बोर्डले सबै सूचीकृत कम्पनीहरूको शेयरमा मार्जिन सुविधा नपाइने स्पष्ट पारेको छ । निर्देशिकाकाअनुसार, मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीको शेयर सङ्ख्या कम्तीमा २५ लाख कित्ता साधारण शेयर (लक–इन पिरियडमा रहेका बाहेक) नेप्सेमा सूचीकृत भएको हुनुपर्नेछ ।
कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्नेछ । पछिल्लो तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको, आइपिओ निष्कासन भई सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने सर्त तोकिएको छ ।
त्यस्तै, निर्देशिका अनुसार मार्जिन सुविधा सबै ब्रोकरले दिन पाउने छैनन् । यो सुविधा उपलब्ध गराउन चाहने धितोपत्र दलाल व्यवसायीले बोर्डबाट अनुमति लिनुपर्नेछ र सर्तहरू पूरा गर्नुपर्नेछ । ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्ने, राफसाफ सदस्यता प्राप्त गरेको र निक्षेप सदस्यको रूपमा काम गरिरहेको हुनुपर्नेछ ।
त्यस्तै, धितोपत्र दलाल व्यवासायीले लगानीकर्तालाई मार्जिन कारोवार सुविधा दिनु अगावै लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणसहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेश गर्नु पर्नेछ ।
यसैगरी, लगानीकर्ताले शेयर खरिद गर्नुअघि कम्तीमा ३० प्रतिशत रकम ब्रोकरकोमा ’प्रारम्भिक मार्जिन’ को रूपमा राख्नुपर्नेछ । कारोबार सुरु भएपछि बजार मूल्य तल–माथि हुँदा लगानीकर्ताले सधैँ २० प्रतिशत ’सम्भार मार्जिन’ कायम राख्नुपर्नेछ । ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन् । तर, कुनै एक ग्राहक वा उसको परिवारलाई कुल उपलब्ध गराएको सुविधाको १० प्रतिशत भन्दा बढी ऋण दिन पाइने छैन ।
बजारमा शेयरको मूल्य दिनदिनै परिवर्तन हुने भएकाले निर्देशिकाले ’माक्र्ड टु मार्केट’ प्रणालीलाई अनिवार्य गरेको छ । ब्रोकरले हरेक दिन बजार मूल्यका आधारमा लगानीकर्ताको मार्जिन हिसाब गर्नुपर्नेछ । यदि शेयरको मूल्य घटेर लगानीकर्ताको मार्जिन २० प्रतिशत (सम्भार मार्जिन) भन्दा तल झरेमा ब्रोकरले तुरुन्तै ’मार्जिन कल’ गर्नेछ । यदि लगानीकर्ताले तोकिएको समयमा थप रकम वा शेयर जम्मा नगरेमा ब्रोकरले उक्त शेयर आफैँ बिक्री गरी आफ्नो असुली गर्न सक्ने अधिकार निर्देशिकाले दिएको छ ।
मार्जिन कारोबारको अवधि बढीमा एक वर्षको हुनेछ, तर एक वर्षपछि नविकरण गर्न मिल्ने निर्देशिकामा उल्लेख छ ।