काठमाडौं, २७ माघ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष (आव) २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५ दशमलव ९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन् ।
चालू आवका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ, जसमध्ये १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमात्र खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । जुन सुरु विनियोजनको ८५ दशमलव ९६ प्रतिशत बराबर हो ।
चालू आवका लागि चालूगत खर्चतर्फ ११ अर्ब ८० करोड विनियोजन भएकोमा ११ खर्ब २५ अर्ब ९७ करोड रुपयाँ खर्च हुने मन्त्रालयको अनुमान छ । यो सुरुको विनियोजन रकमको ९५ दशमलव २४ प्रतिशत हो ।
त्यस्तै, पूँजीगत खचृतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएकोमा ५९ दशमलव ६५ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ३० करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय व्यवस्थातर्फको बजेट ८५ दशमलव ०२ प्रतिशत अर्थात् ३ खर्ब १९ अर्ब ४ करोड बराबर खर्च हुने संशोधित अनुमान अर्थले गरेको छ । यस वर्षको लागि वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ छुट्याइएको थियो ।
पुस मसान्तसम्म चालू खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थामा ४०.९५ प्रतिशत बराबर भएको छ । चालु आवमा आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशतबाट ३.५ मा रहने अनुमान गरिएको छ ।