काठमाडौं, २७ माघ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि माघ १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ८ लाख ३० हजार कित्ता शेयर निष्कासन गरेको थियो । सो आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाबाट २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ ।
जसमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन योग्य ठहर भएका छन् भने ४० हजार २८ आवेदन विभिन्न कारणले अस्वीकृत भएका छन् ।
माग अत्यधिक भएकाले नियमानुसार गोलाप्रथा प्रणालीमार्फत आईपीओ बाँडफाँट गरिएको हो । यस प्रक्रियाअनुसार ८३ हजार जना आवेदकले जनही १० कित्ताका दरले भुजुङ्ग हाइड्रोपावरको शेयर प्राप्त गरेका छन् ।