काठमाडौं, २६ माघ । राष्ट्रिय तथ्यांक कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्यांकन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको यो सर्वेक्षण नेपालमा गरिएको चौथो बहुसूचक सर्वेक्षण हो ।
सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा प्रति एक हजार जीवित जन्मेका शिशुहरूमध्ये २७ शिशुको १ वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । त्यसैगरी, ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर ३१ रहेको छ । साथै प्रति एक हजार जीवित जन्मेका नवजात शिशुमध्ये १७ शिशुको १ महिना उमेर नपुग्दै मृत्यु हुने गरेको छ ।
प्रदेशगत रूपमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २६ र सबैभन्दा कम बागमती प्रदेशमा १० रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३८ र बागमती प्रदेशमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४८ र गण्डकी प्रदेशमा सबैभन्दा कम २० रहेको छ ।
यस सर्वेक्षणमा तथ्याङ्क सङ्कलनको लागि नेपालभर ५४० क्लष्टर ( गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट ३०४ क्लष्टर र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर तथ्याङ्कीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २४ ओटा परिवारहरू छनोट गरिएको थियो । यसरी छानिएका जम्मा १२ हजार ९६० परिवारहरूबाट पारिवारिक विवरण सङ्कलन गरिएको थियो जसमा प्रत्येक परिवारमा भएका १५–४९ वर्ष उमेर समूहका महिला, १५– ४९ वर्ष उमेर समूहका पुरुष, ५ १७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण सङ्कलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको थियो ।