काठमाडौं, २६ माघ । जापानमा मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सनाए तकाइचीले दुई तिहाइ बहुमतसहित जित हात पार्दै आफ्नो दलका लागि ऐतिहासिक पुनरागमन गराएकी छन् ।
सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले जापानको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का कुल ४६५ सिटमध्ये ३१० भन्दा बढी सिट जितेको छ । यो दोस्रो विश्वयुद्धपछि पहिलो पटक कुनै एकल दलले दुई–तिहाइ बहुमत हासिल गरेको हो । समग्र सत्तारूढ गठबन्धनले भने ३४० भन्दा बढी सिटमा जित हात पारेको छ ।
तल्लो सदनमा प्राप्त दुई–तिहाइको सशक्त बहुमतले ताकाइचीको दललाई माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) का निर्णयलाई समेत उल्ट्याउने तथा संविधान संशोधन प्रस्ताव गर्ने महत्वपूर्ण अधिकार दिनेछ ।
देशकी पहिलो महिला प्रधानमन्त्रीले पार्टी प्रमुख बनेको चार महिनामै स्पष्ट बहुमतका लागि आह्वान गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । उनका दुई जना पूर्ववर्तीहरूका पालामा बाहिर आएका भ्रष्टाचार काण्ड र मूल्य वृद्धिका कारण पार्टीले यसअघि बहुमत गुमाएको थियो ।
कडा कार्यशैली, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र करिश्माका कारण उनले धेरै मतदाताको मन जित्न सफल भएकी हुन् । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग गरिएको एक आकस्मिक ड्रम सेसनजस्ता भाइरल क्षणहरूले जनउत्साह झनै बढाएको छ, जुन पूर्व प्रधानमन्त्री शिन्जो आबेपछि देखिएको स्तरसँग तुलना गरिएको छ ।
आकस्मिक निर्वाचन घोषणा गर्नु जोखिमपूर्ण निर्णय थियो, तर ताकाइचीले आफ्नो लोकप्रियतालाई लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का लागि बलियो जनादेशमा रूपान्तरण गर्ने आशा राखेकी थिइन् । हालैका वर्षहरूमा राजनीतिक कोष दुरुपयोगसम्बन्धी घोटालाका कारण कमजोर बनेको एलडीपीलाई यो जितले नयाँ ऊर्जा दिएको छ ।
सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा ताकाइचीले “चिसो र हिउँ परेका बाटो पार गर्दै मतदान गर्न आउने साहस देखाएका” मतदाताप्रति आभार व्यक्त गरिन् । “मैले जिम्मेवार र सक्रिय वित्तीय नीतिको पक्षमा आवाज उठाएकी थिएँ, जसले आर्थिक तथा राजकोषीय नीतिमा ठूलो परिवर्तन ल्याउनेछ । यही कारणले मतदाताबाट स्पष्ट जनादेश चाहेको हुँ,” उनले थपिन् ।
उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत खुलेर समर्थन जनाएका छन् । आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै ताकाइचीले यसै महिनाको सुरुमा समर्थन जनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति धन्यवाद दिँदै अमेरिका–जापान गठबन्धनको सम्भावना सीमाहीन रहेको उल्लेख गरेकी छन् ।
आइतबार नै ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीको जितको उत्सव मनाएका छन् । “आजको अत्यन्त महत्वपूर्ण मतदानमा ऐतिहासिक भारी जित हासिल गरेकी प्रधानमन्त्री साने ताकाइची र उनको गठबन्धनलाई हार्दिक बधाई। उनी अत्यन्त सम्मानित र निकै लोकप्रिय नेतृ हुन्। निर्वाचन आह्वान गर्ने सानेको साहसी र दूरदर्शी निर्णयले ठूलो सफलता पायो,” ट्रम्पले लेखेका छन् ।