काठमाडौं, २५ माघ । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा दुई नयाँ उद्योग सञ्चालनमा आएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामान प्रशोधन गरी नयाँ धातु उत्पादन गर्ने उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको छ । यस्ता प्रकारको उद्योग नेपालमै पहिलोपटक सञ्चालनमा आएको बताइएको छ ।
त्यसैगरी गत कात्तिकदेखि राधाकृष्ण सेनथेटिक प्रालिले पूर्ण रूपमा प्लाष्टिक बोरा उत्पादन गर्न सुरु गरेको छ । कार्यालयका अनुसार लामो समयदेखि बन्द रहेका नेपाल ब्रोरीले नयाँ व्यवस्थापनसहित केही दिनमै पुनः सञ्चालन हुने तयारी गरिरहेको छ भने त्रिपुरा इन्डस्ट्रिजले टोबाको उद्योगका रूपमा नयाँ व्यवसाय सञ्चालन गर्ने तयारीमा छ ।
यद्यपि केही उद्योगले हाल उत्पादन बन्द गरेका छन् । रोटो प्रिन्टिङ उद्योग (प्लास्टिकमा प्रिन्ट गर्ने) र नोबोल प्याकेजिङले पछिल्ला महिनामा लगानी अभावका कारण उत्पादन रोक्न परेको छ । औद्योगिक क्षेत्रमा हाल १३ वटा विभिन्न उद्योग निर्माणाधीन छन्, जसमा अधिकांश निर्माणको अन्तिम चरणमा पुगेको छ ।