काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् । आइतबार एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय बीमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको बताएका हुन् ।
‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो,’ सभापति थापाले भने,‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’
स्वास्थ्य बीमा सुरु गर्दा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै थापाले धेरै बिरामीलाई भेटेर समस्या बुझेपछि यो योजना अघि सारेको बताए । उनले भने, ‘त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको ।’
उनले पैसा नभएकै कारण उपचार बीचमै छोड्नु पर्ने र उपचार गर्दागर्दै घरखेत सकिएर सडकमा पुग्नुपर्ने विद्यमान पीडादायी अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नागरिकले उपचारमा आफ्नो खल्तीबाट बढीमा २० प्रतिशत मात्र खर्च गर्नुपर्ने भए पनि नेपालमा यो दर ५७ प्रतिशतभन्दा माथि रहेको तथ्याङ्क उनले प्रस्तुत गरे । यो तथ्याङ्कले स्वास्थ्य क्षेत्रमा राज्यले आफ्नो भूमिका सही रूपमा निर्वाह गर्न नसकेको प्रस्ट हुने उनको भनाइ छ ।