काठमाडौं, २५ माघ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको प्रतिष्ठा र मर्यादामा आँच नपुग्ने गरी जिम्मेवार र सचेत हुन निर्देशन दिएको छ । प्राधिकरणले कर्मचारी सेवा, शर्त तथा नियमावलीमा उल्लेखित आचरणसम्बन्धी प्रावधानको पालना गर्नु सबै कर्मचारीको अनिवार्य दायित्व भएको स्मरण गराएको हो ।
हालका दिनमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा तथ्यहीन, काल्पनिक तथा कार्यालय र समाजको छवि नकारात्मक रूपमा असर पार्ने खालका सामग्री, प्रतिक्रिया र आन्तरिक पत्रहरू सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति प्राधिकरणले गम्भीर आपत्ति जनाएको छ ।
यस किसिमका गतिविधिलाई निरुत्साहित गर्दै सामाजिक सञ्जालको प्रयोगलाई सभ्य, व्यवस्थित र रचनात्मक बनाउन सबै कर्मचारीको सकारात्मक भूमिका आवश्यक रहेको प्राधिकरणका सहनिर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, शर्त नियमावली–२०७५ मा व्यवस्था गरिएअनुसार आचरण उल्लङ्घन हुने गरी कार्यालयका पत्र वा अन्य अनावश्यक सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न प्राधिकरणले स्पष्ट रूपमा सूचित गरेको छ ।
सूचनामा उल्लेख गरिएअनुसार नियमविपरीत सामग्री पोस्ट गर्ने वा गैरजिम्मेवार प्रतिक्रिया दिने कर्मचारीको विवरण संकलन गरी प्रचलित विनियमअनुसार विभागीय कारबाही समेत गरिनेछ ।